
बिर्तामोड, पुस ११ । भोजपुर ५ बोखिममा स्करपियो दुर्घटना हुँदा झापाका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका छन् ।


दुर्घटनामा झापा गौरादह ५ जामबारी बस्ने ६५ वर्षीय झंकबहादुर घलेको मृत्यु भएको हो । टाउकोमा चोट लागेका घलेलाई डक्टरले मृत घोषणा गरेका थिए ।


आज बिहान ७ः३० बजे बोखिममा प्र १–०२–००२ च ६९२३ नम्बरको स्करपियो अनियन्त्रित भई सडकदेखि करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।


घाइते हुनेहरुमा मृतक घलेकी श्रीमती ५८ वर्षीया देवीकला घलेसहित भोजपुर र इलामका यात्रुहरु रहेका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहको निगेल राई, लाक्पादिकी शेर्पा, इहाङ सुब्बा, रामकुमार राई र मेनुका घलेलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

