बिर्तामोड, पुस १४ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा भएको अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ ।
शनिबार इलामको ठुलो टुँडीखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई १-० गोलले पराजित गर्दै दमकले उपाधि जितेको हो ।
खेलको ३३ औँ मिनेटमा दमकका किस्मत लिम्बूले प्रहार गरेको बललाई धरानका प्रविनले हेडमार्फत क्लियर गर्न खोज्दा अन गोल भएको थियो ।
उपाधिसँगै दमक बहुमुखी क्याम्पसले नगद दुई लाख रुपैयाँ, ट्रफी र मेडल पायो भने उपविजेता बनेको महेन्द्र बहुमुखी क्याम्पस धरानले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझायो ।
विजेता तथा उपविजेतालाई प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा दमक बहुमुखी क्याम्पस झापा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार सुनसरी, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, पाथिभरा बहुमुखी क्याम्पस ताप्लेजुङ, दार्जिलिङ गभर्मेन्ट क्याम्पस भारत, गौरादह क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस धरान र मेची बहुमुखी क्याम्पस झापाको सहभागिता रहेको थियो ।