बिर्तामोड, पुस १६ । झापाको बिर्तामोडमा एकाबिहानै आगलागी हुँदा २५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड-७ मियाबाडीमा आज बिहानै लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो । बिहान अन्दाजी ४ः४० बजेतिर मिलमा विद्युत सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाखबराबरको क्षति भएको छ ।
आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ । साथै, मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।
बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ः५२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाको वारुण यन्त्र कार्यालयले जनाएको छ ।