२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

पूर्वनगरप्रमुख शिवाकोटीमाथि अन्तिमपटक म्याद थप


बिर्तामोड, पुस १६ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीमाथि अन्तिमपटक म्याद थप भएको छ ।

उनीमाथि अनुसन्धान गर्नका लागि प्रहरीले अन्तिमपटक थप म्याद मागेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी तामाङले बताइन् ।

उनलाई थप चार दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको हो । पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो ।

यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार, पाँच, सात र त्यसपछि पाँच गरी २१ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आज चार दिन थपिएपछि प्रहरीले अनुसन्धानका लागि पाउने २५ दिनको म्याद पूरा हुन्छ ।

चार दिनको म्याद सकिएपछि अब उनलाई सरकारी वकिलको कार्यालयमा बुझाइने प्रहरी निरीक्षक तामाङले बताइन् ।

‘प्रहरीले गर्नुपर्ने अनुसन्धान लगभग पूरा हुन लागेको छ’, उनले भनिन्, ‘यसपछि हामी सरकारी वकिलको कार्यालयलाई जिम्मा दिन्छौँ ।’

इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा गत मंसिर २५ गते पक्राउ गरेको हो ।

Adv footer