मेचीनगर, पुस १८ । झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा भर्खरै बनेको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने थालेका छन् ।
बुद्धशान्ति–६ र ७ को दुईवटा गाउँ कोल्बुङ र रमिते गौँडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको ४७७ मिटर लामो डि आकारको झोलुङ्गे पुल कोशी प्रदेशकै लामो हो ।
पुल लामो भएका कारण हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन् । बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेको बुद्धशान्ति ७ का वडा अध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताए ।
दैनिक तीन सयदेखि पाँचसयजना पुल हेर्न आउँदा झोलुङ्गे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ । विदाका दिन पाहुनाको संख्या दोब्बर हुने गरेको छ ।
पर्यटकको मागअनुसार स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा तथा नास्ता बिक्री गर्ने साना होटल खुलेका छन् । चटपटे, पानीपुरी र मौसमी फलफूल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयबासीको आम्दानीसमेत वृद्धि भएको वडा अध्यक्ष भण्डारीले बताए ।
संघीय सरकारको पाँच करोड ९८ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले बताए ।
गत असार २४ गते शिलान्यास भएको सो पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो । उद्घाटन हुन बाँकी नै छ । यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।
झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ । त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने माग छ । वनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेवर घुम्न जानेको संख्या पनि अत्यधिक छ ।
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ठाउँको नयाँ नामकरण गरेर पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताए ।
काठमाडौँको थानी–जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा पुलले एकपटकमा ६४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने उल्लेख छ ।
पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।
Comments are closed