बिर्तामोड, पुस १९ । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ ।
तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा घाइते भएका थिए ।
नर्भिक हस्पिटलको सघन उपचार कक्षमा उपचारका क्रममा हिजो साँझ निश्चलको निधन भएको भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
मृतक निश्चल भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका एकमात्र छोरा हुन् । उनकी श्रीमतीको भने उपचार भइरहेको जनाइएको छ ।
दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिनअघि मात्रै मुलघर भद्रपुरमा आएर फेरि अस्ट्रेलिया फर्कन काठमाडौँ गएका थिए । पारिवारिक स्रोतका अनुसार राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्कंदै थिए ।
अस्ट्रेलिया जानुपूर्व विदेश जाने तयारीमा बजारमा सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले बाटो काट्दा स्कुटर असन्तुलित भई दुर्घटना भएको थियो ।
Comments are closed