बिर्तामोड, पुस १९ । झापाको मेचीनगरमा स्वर्गीय गणेश-ज्ञानेन्द्र राउत (जिजिआर) स्मृति प्रथम खुला फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।
आयोजक रेड स्टार फुटसल मेचीनगर-१० गोलबारीले फुटसल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
यही पुस २० गते र २१ गते सञ्चालन हुने प्रतियोगितामा भारत सिलिगुडी र इलामको एकएकसहित १८ वटा टिमको सहभागिता रहने फुटसलका अध्यक्ष देवेन्द्र राउतले जानकारी दिए । प्रतियोगितामा झापाका १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
फुटसलका सचिव प्रेमकृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ भने उपपविजेताले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले दुई हजार पाउँदा गोलकिपर एक हजार ५०० रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । सेमिफाइनल र फाइनलको प्लेयर अफ द म्याचले एक हजार र ट्रफी पाउने राउतले बताए ।
फुटसलका अध्यक्ष राउतले आफ्ना बुवा गणेश राउत र दाजु ज्ञानेन्द्र राउतको स्मृतिमा आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिइने बताए । फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै फाउन्डेसनको रुपमा विकसित गरिने बताइएको छ ।
रेड स्टार एफसीका समेत सचिव रहेका श्रेष्ठका अनुसार प्रतियोगिताबाट बचेको रकमले विपन्न समुदायका व्यक्तिको निःशुल्क आँखा र दाँत परीक्षण गरिने भएको छ । अहिले पनि मेचीनगर-१० र १४ का विपन्न बालबालिकालाई निःशुल्क खेलमैदान उपलब्ध गराइएको छ ।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, खेलप्रेमी वासु उप्रेती लगायतले शुभकामना व्यक्त गरेका थिए ।
Comments are closed