
बिर्तामेड, पुस १९ । कोशी प्रदेशकै ठुलो १० मेगावाट क्षमताको सौर्य ऊर्जा कम्पनी झापा इनर्जीले मंसिर मसान्तसम्म १ करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत उत्पादन गरेको छ ।
परियोजनामा बैंकबाट ७५ र लगानीकर्ताहरुबाट २५ प्रतिशत लगानी गरिएको छ । सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारासहित स्थापना गरिएको सौर्य ऊर्जा कम्पनी हो ।
गत वर्षको माघ १० गतेदेखि झापा इनर्जीले ९ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँको सौर्य ऊर्जा बिक्री गरेको हो । आज बिर्तामोडमा सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार २०७५ मा स्थापित झापा इनर्जीले आइपिओ जारी गर्ने तयारी गरेको छ ।
सौर्य ऊर्जा परियोजना सञ्चालनका शिवसताक्षी-४ स्थित बोलोचोकमा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गामा खरिद गरिएको थियो । कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव अघि सारिएको छ ।
कम्पनीले ऊर्जा उत्पादनलगत्तै मुनाफा गर्न सफल भएको अध्यक्ष एलपी साँवाले जानकारी दिए । अध्यक्ष तथा संघीय सांसद साँवाले समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउन सौर्य ऊर्जा उत्पादन गरिएको जानकारी दिए ।
कम्पनीको अधिकतम पुँजी ४० लाख कित्ता बराबर प्रतिशेयर १०० रुपैयाँका दरले ४० करोड रहेको छ । कम्पनीको जारी पुँजी ३८ करोड १ लाख ९ हजार रहेको छ ।
जारी गरिएको पुँजीमध्ये यस कम्पनीको संस्थापक शेयर धनीहरुले ७५ प्रतिशतले हुन आउने २८ करोड ५१ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको शेयर कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र सर्वसधारणहरुका लागि जारी गरिएको छ ।
कम्पनीले परियोजनाका निर्माणका लागि शिवसताक्षीमा १० बिघा १७ कठ्ठा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इन्डस्ट्रिज प्रालिको नाममा रहेको १० बिघा १३ कठ्ठा ११ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरी निर्माण कार्यको थालनी गरेको थियो ।
उक्त आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत दमक वितरण केन्द्रअन्तर्गत बोलोचोक सब–स्टेशनस्थित राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उक्त आयोजनाको प्रशारण लाइन ९६६ मिटर मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीका सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष, कम्पनीका पूर्वसञ्चालक तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका प्रबन्धक सञ्चालक सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सचिव तथा महाप्रबन्धक सरोज श्रेष्ठले कम्पनीको बारेमा जानकारी दिँदै आयव्यय प्रस्तुत गरेका थिए ।