बिर्तामेड, पुस १९ । झापाको बिर्तामोड–३ सैनिकमोडस्थित विराट सहकारी भवनअगाडि आयोजना गरिएको भाक्का उत्सवमा भाक्का खानेहरुको उत्साही देखिए ।
पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी युवा परिवारले आयोजना गरेको कार्यक्रममा भाक्काको खान बिहानैदेखि स्थानीय भेलापछि भाक्का बनाउने महिलाहरुलाई भ्याइनभ्याई थियो ।
बालबालिकादेखि वयस्क र वृद्ध उमेर समूहका मानिसहरु भाक्काको स्वादमा रमाइरहेका थिए । उत्सवमा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारण गरी सयौँ सहभागी थिए ।
विराट सामुदायिक सिकाई केन्द्र र हिमालय एभरेस्ट इन्स्युरेन्स प्रालिको सहयोगमा आठौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा सो उत्सव गरिएको पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बास्कोटाले बताए ।
उनले ८५ केजी चामलको पिठोको भाक्का बनाएर वितरण गरिएको जानकारी दिए । केराको पातमा भाक्कासँगै टमाटर र धनियाको अचार सहभागीहरुलाई खुवाइएको थियो । भाक्का बनाउन १० जना महिला खटिएका थिए भने त्यति नै संख्यामा वितरण गर्न स्वयमसेवक परिचालन भएका थिए ।
बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशीको अध्यक्षता तथा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मौलिक परिकार भाक्का र भाक्का व्यवसायको प्रवर्धनका बारेमा मेची क्याम्पसका पूर्वक्याम्पस प्रमुख उमानाथ ओली, नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, पत्रकार इन्द्रसिंह राजवंशीले बोलेका थिए ।
प्रविण राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बास्कोटाले गरेका थिए ।
Comments are closed