बिर्तामोड, पुस २० । झापामा अध्ययनरत विद्यार्थीहरूलाई काठमाडौँका देव लामाले राधिका फाउन्डेसनमार्फत पाठ्यसामग्री, न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।
हाल अस्ट्रेलियामा रहेका लामाले फाउन्डेसनका विद्यार्थीलाई ४० हजार मूल्यबराबरका स्टेशनरी, न्यानो कपडा र खाद्य सामग्री प्रदान गरेका हुन् ।
बिर्तामोड निवासी टिका पौडेलमार्फत उक्त सामग्री फाउन्डेसनका संस्थापक राधिका दासीलाई प्रदान गरिएको थियो ।
फाउन्डेसनले कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई झापा र काठमाडौँका विद्यालयमा अध्ययन गराउँदै आएको छ ।
आवासीय सुविधासहित अध्ययनरत विद्यार्थीलाई इच्छुक दाताहरूकै सहयोगमा विद्यालय भर्ना गरिएको फाउन्डेसनले जनाएको छ ।
“पहिले संस्कार अनि संस्कारसहितको परोपकार“ नारालाई आत्मसात गरेको फाउन्डेसनले बृहत गुरुयोजना अघि सारेर काम अघि बढाइरहेको छ । फाउन्डेसनको सचिवालय र विद्यार्थीको आवासका लागि व्यवस्थित भवन निर्माणाधीन छ ।
निकट भविष्यमा एकै परिसरभित्र विद्यालय, अस्पताल र पार्क निर्माण गर्ने योजना अघि सारिएको संस्थापक दासीले बताएकी छन् ।
फाउन्डेसनमा कर्णालीसहित विकट पहाडी जिल्लाका ४० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उनीहरू काठमाडौँ र झापामा बस्दै आएका छन् ।
उनीहरूकै लागि “एकदाता, एक छाक भोजन“ अभियान सञ्चालन गरिएको जनाउँदै फाउन्डेसनले त्यस कार्यमा सरिक हुन इच्छुक दाताहरुलाई अपिल समेत गरेको छ ।
फाउन्डेसनमा रहेका विद्यार्थीहरू अधिकांश अभिभावकविहीन हुन् । राधिका फाउन्डेसनले विपन्न र अभिभावकविहीन कम्तिमा १०० बालबालिकालाई आवासीय सुविधासहितको विद्यालय शिक्षा प्रदान गर्ने तयारी गरेको छ ।
Comments are closed