२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

जिजिआर मेमोरियल फुटसलको उपाधि अन्तिम विकल्पलाई


मेचीनगर, पुस २१ । झापाको मेचीनगर १० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको अन्तिम विकल्प फुटसलले जितेको छ ।

आज भएको फाइनल खेलमा अन्तिम विकल्पले आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २-२ गोल गरे । एरोन प्लेयर अफ द म्याच बने ।

यसैगरी, आयोजकका लागि पवन बास्केले एक्लै २ गोल गरेका हुन् । यसअघि अन्तिम विकल्पले ५-२ गोलअन्तरले धुलाबारीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । अन्तिम विकल्पका अनिष पोमु प्लेयर अफ द म्याच बनेका थिए ।

यस्तै, अन्तिम सेमिफाइनल खेलमा आयोजकले विर्ता सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जसमा २ गोल गरेका रोशन बोहोरा प्लेयर अफ द म्याच बनेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक अन्तिम विकल्पका नगेन्द्र खत्री बने । उनले नगद १ हजार ५ सय पाउँदा सर्वोत्कृष्ट खेलाडी बास्केले नगद २ हजार र प्लेयर अफ द म्याच बनेका खेलाडीले जनही १-१ हजार पाए ।

च्याम्पियन बनेको अन्तिम विकल्पले नगद ५० हजार र उपविजेता आयोजक टोलीले नगद २५ हजार पायो । उनीहरुलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, हरिचरण बानियाँ, बासु उप्रेती, प्रेमकृष्ण श्रेष्ठ, परिवारजनका सदस्यहरु पम्फादेवी राउत, देवेन्द्र राउत, नितु राउत, तृष्णा राउतलगायतले पुरस्कार वितरण गरेका थिए ।

बिर्तामोडकाे रेड स्टार एफसीका उपाध्यक्ष स्वर्गीय ज्ञानेन्द्र राउत र उनका बुबा स्वर्गीय गणेश राउतको स्मृतिमा रेड स्टार फुटसल क्लबले प्रतियोगिताको आयोजना गरेको हो । मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

Comments are closed

Adv footer