बिर्तामोड, पुस २२ । झापा बिर्तामोड-२ को लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी-१ मा रहेको अमृत माविका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
गरिब तथा विपन्न ४९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको फाउन्डेशनकी संरक्षक शिखा खड्का गणेशले जानकारी दिइन् । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरिएको हो ।
लीलामाया खड्का आदर्श फाउन्डेशन, झापा एफसी, फ्रेन्जको सहयोगमा न्यानो कपडा वितरणको कार्यक्रमको व्यवस्थापन सहारा नेपाल साकोसले गरेको हो । विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयमा वर्षौपछि परोपकारी संस्थाले विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्काले फाउन्डेशनमार्फत आफू जन्मिहुर्की गरेको ठाउँको विद्यालयमा परोपकारी काम गरेकोमा बुढाथोकीले आभार प्रकट गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर फाउन्डेशनले ठुलो योगदान गरेको बताए ।
हुनेले नहुनेहरुलाई सहयोग गर्न जरुरी रहेको उनले धारणा व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री टेकनारायण राजवंशीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा लीलामाया खड्कासहित फाउन्डेशन परिवारको सहभागिता रहेको थियो ।
Comments are closed