बिर्तामोड, पुस २४ । बिर्तामोड नगर खेलकुद विकास समितिले नगरका ३०० जना खेलाडीको स्वास्थ्य उपचारका लागि दुर्घटना बीमा गरिदिने भएको छ ।
बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । समितिले खेलाडीको बीमाका लागि इसेवाको इसेवा केयरसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा इसेवा केयरका विभाग प्रमुख ओमकार पाण्डे र समितिका अध्यक्ष विकास गिरीले हस्ताक्षर गरेका छन् । बीमाका लागि दाताले रकम तिरिदिने जनाइएको छ ।
१० वटा वडा रहेको बिर्तामोडमा बीमाका लागि सबै वडाबाट समान ३० जना खेलाडीलाई समावेश गरिनेछ । बीमा कार्यक्रममा सहभागी हुन कम्तिमा एउटा प्रतियोगितामा भाग लिएको हुनुपर्ने अग्रवालले बताए ।
त्यस्तै, एक लाख रुपैयाँसम्मको हुने दुर्घटना बीमा कार्यक्रममा विपन्न समुदायका खेलाडीलाई प्राथमिकता दिइनेछ भने ३३ प्रतिशत महिला खेलाडी अनिवार्य हुनुपर्नेछ ।
बीमाले एक लाख २० हजारसम्मको थप अन्य खर्च, १० हजारसम्मको अस्पताल बेड चार्ज र अन्य स्वास्थ्य सेवामा ३० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको जनाइएको छ ।
Comments are closed