बिर्तामोड, पुस २५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत शृंगार तालिमको समापन भएको छ ।
झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्लाअन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउँदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउँदै तालिममा सिकिएका सीपलाई व्यवहारमा उतार्न कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउँपालिका ७ का वडा अध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्दै पुँजी अभावकै कारण व्यवसाय सञ्चालनमा समस्या भए संस्थाले आवश्यक कर्जा सहितको सुविधा उपलब्ध गराउने बताए ।
तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागी थिए । सहभागीलाई जानुकादेवी प्रधान र सिर्जना ढुंगेलले प्रशिक्षण दिएका थिए । सहभागीलाई संस्थाले प्रमाणपत्र उपलब्ध गराएको छ ।
यसअघि पनि संस्थाले इलाम जिल्लाको नेपालटारमा इलाम जिल्लाअन्तर्गतका शेयर सदस्यहरुलाई शृंगार तालिम प्रदान गरेको थियो ।
त्यसैगरी, संस्थाले खुदुनाबारीमा पनि केही समयअघि कपुरधुप बात्ती निर्माण तालिम प्रदान गरेको थियो ।
झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरुमार्फत शेयरसदस्यहरुलाई सेवा सुविधा दिइरहेको संस्थाले जनाएको छ ।
Comments are closed