बिर्तामोड, पुस २६ । झापाको बिर्तामोड- मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा १६ लाख ६७ हजार १३१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
१७ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष किशोर भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । अध्यक्ष भट्टराईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार १२ हजार ७२६ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ६ करोड ३६ लाख ६२ हजार दुई सय रुपैयाँ रहेको छ ।
संस्थाले कोषवृद्धि गरी २ करोड ७१ लाख ६९ हजार ५५५ रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षमा संस्थाले ३७ करोड ५ लाख ९० हजार ७३५ रुपैयाँ बचत सङ्कलन गरेको छ भने ४० करोड १९ लाख ६७ हजार ४२५ रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षमा १५२ जना शेयर सदस्यहरुलाई राहतबापत ७ लाख १० हजार १०८ रुपैयाँ उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सीता नेपाल, खिनादेवी मिश्र दाहाल र सरु कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
चालु आर्थिक वर्षदेखि शेयर सदस्यहरुलाई घरमा आवश्यक इलेक्ट्रोनिक्स सामान शून्य प्रतिशत ब्याजदरमा उपलब्ध गराउने निर्णय गरेको छ ।
२०६१ सालमा स्थापना भएको संस्थाले झापामा नौवटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको छ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल र दैनिक उपभोग्य वस्तुहरुको थोक बिक्रेताको कार्य गर्दै आएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश ढकाल, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, साना किसान सहकारी संस्था हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगी, बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्वअधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राखेका थिए ।
किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सञ्चालक सदस्य माधवप्रसाद आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका शिक्षा उपसमिति सदस्य ज्ञानेन्द्र अधिकारीले सञ्चालन गरेको संस्थाका व्यवस्थापक मोहन पनेरुले जानकारी दिए ।
Comments are closed