बिर्तामोड, पुस २८ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा झापा ११ ले जिटिएलाई ४-२ गोल अन्तरले हराएको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
खेलमा जिटिएले सुरुवाती अग्रता लिए पनि झापा ११ ले गोल फर्काएर बराबरीमा पुर्याएको थियो । हारको नजिक पुगेको झापा ११ टाइब्रेकरमार्फत विजयी बन्यो ।
जिटिएका लागि दिवस रानाले गोल गरेका थिए भने झापा ११ का लागि आशिष गुरुङले बराबरी गोल फर्काएका थिए । गुरुङ प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार भारतीय रुपैयाँ पाए ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत झापा ११ ले सेमिफाइनल प्रवेशका लागि माघ ३ गते भुटानको ट्रान्सपोर्ट एफसीको सामना गर्नेछ ।
Comments are closed