बिर्तामोड, पुस २९ । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुईजना निर्विरोध भएका हुन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका छन् । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।
आज बिर्तामोडस्थित अतिथि सदनमा भइरहेको निर्वाचन प्रक्रियामा गोल्डकपका सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
आज ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने अन्तिम नामावली ४ः१५ मा प्रकाशित हुने कार्यतालिका रहेको छ ।
पदाधिकारीमा दुई पदबाहेक अन्य पदहरुमा दुईदुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ८ जना सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र वर्तमान कोषाध्यक्ष केदार गिरीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी र गोल्डकपका सदस्य बुद्ध तामाङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सहसचिवमा वर्तमान कार्यसमिति सदस्य यादव पोखरेल र विष्णु सिग्देल तथा कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य चन्द्रमणि कट्टेल र बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले उम्मेदवारी दिएका छन् ।
झापा गोल्डकपको अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।
Comments are closed