बिर्तामोड, माघ ३ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालअन्तर्गत भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षसहित शीर्ष पाँच पदबाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।
संघको विराटनगरस्थित प्रदेश कार्यालमा भएको मनोनयन दर्तामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, थोक उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्षमा दुईदुईजनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिका अनुसार झापा मेचीनगरका दिलिप सुवेदी (खुद्रा उपाध्यक्ष), प्रभातकुमार श्रेष्ठ (कोषाध्यक्ष), झरना न्यौपाने (सचिव) निर्विरोध भएका हुन् ।
त्यस्तै, झापा दमकका खेमलाल काफ्ले रूपक (थोक सदस्य), शरद गौतम (थोक सदस्य), बिर्तामोडका यामकुमार खड्का (खुद्रा सदस्य), वेदबहादुर थापा (खुद्रा सदस्य) निर्विरोध भएका हुन् ।
त्यस्तै, कनकाईका सुरेन्द्र प्रधान सुडी (खुला सदस्य), सुवास पौडेल (खुला सदस्य), महेन्द्र थापा (खुल्ला सदस्य) प्रकाश धिमाल (खुला सदस्य), दमककी तिलमाया काफ्ले भट्टराई (महिला सदस्य) पनि निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता गणेशराज लुइँटेलका अनुसार अध्यक्षमा बिर्तामोडका नरेन्द्र बराल र विराटनगरका धनबहादुर काफ्लेले उम्मेदवारी दिएका छन् ।
संघमा हाल वरिष्ठ उपाध्यक्ष रहेका बराल बिर्तामोडमा रहेको ओसियन मेडिकेयर प्रालिका सञ्चालक हुन् । बराल नेपालका सबै कम्पनीका औषधिका थोक बिक्रेता हुन् । उनी पुराना र अनुभवी व्यवसायी हुन् ।
बरालको पक्षमा अधिकांश जिल्लाका कार्यसमिति सदस्य तथा पूर्व अञ्चल अध्यक्षहरु रहेको बताइएको छ । शालिन र संघको नेतृत्वको लागि सक्षम भएको तथा वरिष्ठ उपाध्यक्षको रुपमा संघको नेतृत्व गरिसकेकाले बराललाई जिताउनुपर्ने मतदाता व्यवसायीहरुको धारणा रहेको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दमकको सर्जिड्रग मेडिकोका सञ्चालक सूर्यप्रसाद कोइराला र विराटनगरका लक्ष्मीप्रसाद तिम्सिनाले उम्मेदवारी दिएका छन् । कोइराला साविक मेची अञ्चलका पूर्वअध्यक्ष हुन् ।
त्यस्तै, थोक उपाध्यक्षमा कालिमा ड्रग बिर्तामोडका सञ्चालक खेम बस्नेत र विराटनगरका सुदिनध्वज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा इटहरीका रविन्द्र घिमिरे र विराटनगरका लक्ष्मण माझी चौधरीले उम्मेदवारी दिएका छन् ।
उपकोषाध्यक्षमा दाहाल फार्मेसी दमकका सञ्चालक सेवक दाहाल र सुन्दरहरैँचाका पुष्पराज पोखरेलले उम्मेदवारी दिएका छन् ।
संघको दोस्रो अधिवेशन माघ २६ र २७ गते हुँदैछ । बाँकी रहेका पदमा माघ २७ गते हुने निर्वाचन प्रक्रियाबाट टुङ्गो लाग्ने संघका झापा अध्यक्ष जीवनकुमार ख्डकाले जानकारी दिए ।
Comments are closed