
बिर्तामोड, माघ ३ । बैंकिङ कसुर मुद्दामा भागिरहेका झापा गौरादहका एकजना व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
कार्यालयको प्रहरी टोलीले गौरादह-५ महारानीझोडाका ५३ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई हिजो काठमाडौँ गौशालाबाट पक्राउ गरेको हो । उनी नक्सालमा लुकेर बस्दै आएका थिए ।
ढुंगाना चेक अनादर मुद्दामा भाग्दै आएको प्रहरीले जनाएका छ । सुदिप सुनुवारको जाहेरीका आधारमा ढुंगानालाई काठमाडौँ जिल्ला अदालतले २०७३ असार ८ गते ब्याजसहितको बिगो ३२ लाख ४२ हजार ६४८ रुपैयाँ तिर्न फैसला गरेको थियो ।
उनी पक्राउपछि बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँबाट समेत उनी फरार सूचीमा रहेको पाइएको छ । त्यहाँ बिगो रकम ७५ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट पक्राउ पुर्जी जारी भई भागिरहेको उनीविरुद्ध त्यहाँ बिगो रकम ६९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।