
बिर्तामोड, माघ ७ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् ।
भोलि मंगलबारबाट सुरु हुने व्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
बिर्तामोड ५ धर्मकाटा रोडस्थित महोत्सवस्थलमा आज गरिएको पत्रकार सम्मेलनमा नेपालकै सबैभन्दा ठुलो ह्याङ्गरको प्रयोग गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले महोत्सवमा १५० वटा स्टलहरु रहेको बताए ।
यहाँका व्यवसायीहरुले देशविदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवर्धन गर्ने अपेक्षा रहेको बताए ।
महोत्सवले यहाँका व्यवसायीमार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने विश्वास लिएको उनको भनाई छ । महोत्सवमा मित्रराष्ट्र भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टलहरु समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै, विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताए । यसैगरी विभिन्न जातजातिका कला संस्कृतिहरुलाई समेत समेटिने बताइएको छ ।
महोत्सव अवधिभर दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सिसी टिभी क्यामेराको प्रबन्ध गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत सहयोग लिएको र महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरु समेत महोत्सव परिसरमा व्यवस्थापन गरेको अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवको उद्घाटन सत्रमा दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा , बाजागाजा, सामाजिक संघसंस्था, उद्योगी व्यवसायी र शुभेच्छुकहरुको उपस्थितिमा नगर परिक्रमा गरिनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । नगर परिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुने भएको छ ।
नेपालसहित छिमेकी मुलुकका उपभोक्तालाई एकैथलोबाट उपभोग्य वस्तुको खरिद र अवलोकन गराउँदै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन यो महोत्सवले टेवा पुर्याउने बताइएको छ ।
पत्रकार सम्मेलनमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत गरेकी थिइन् भने सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।