२०८१ माघ ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ११ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप च्याम्पियन


बिर्तामोड, माघ ८ । मोफसलको चर्चित क्लब झापा ११ एफसीले भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो ।

उपाधिसँगै झापा ११ ले ट्रफीसहित २० लाख भारतीय रुपैयाँ प्राप्त गर्‍यो । उपविजेतामा सीमित चर्च ब्वाइज युनाइटेडले १० लाख भारतीय रुपैयाँमा चित्त बुझायो ।

झापालाई जित दिलाउन प्रदिप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदिपले २० औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए ।

सन्तोषले ७० औँ मिनेटमा गोल गरेपछि झापाको जित थप सहज बन्यो । सन्तोष प्लेयर अफ द म्याच घोषित भए । उनले नगद १० हजार भारतीय रुपैयाँ पाए ।

झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

क्वार्टरफाइनमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २–१ ले र सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको थियो ।

क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४–० अन्तरले हराउँदै अघि बढेको चर्च ब्वाइजले सेमिफाइनल इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५–४ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता तथा उपविजेतालाई सिक्किमका मुख्यमन्त्री पिएस गोलेलगायतले पुरस्कार वितरण गरेका थिए ।

Comments are closed

Adv footer