बिर्तामोड, माघ ८ । झापाको बिर्तामोडमा आजदेखि एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।
नेपाल र छिमेकी मुलुकहरु भारत, बंगलादेश, पाकिस्तान सहितका वस्तु र सेवाहरुको अवलोकन र बिक्री वितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताए । सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको प्रवर्धनमा नै लक्षित रहेको उनको भनाइ थियो ।
अन्तरदेशीय राजमार्ग (एसियन हाइवे) को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उनले औँल्याए । व्यापार प्रवर्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । स्थानीय उत्पादन र स्वरोजगारमुलक उद्यमको प्रवर्धनमा पर्यटन वर्षले थप टेवा दिने उनले विश्वास दिलाए ।
लगानी सम्मेलन र चिया सम्मेलन समेत गरिने आगामी वर्ष १० करोडभन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई उनको आग्रह छ । उनले कोशी प्रदेशमा चारवटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि जानकारी गराए ।
आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रवर्धन तथा होटल व्यवसाय सहयोगी बन्न सक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको दाबी छ ।
कार्यक्रममा बोल्दै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आशा व्यक्त गरे । संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुनेगरीको वातावरण तयार गर्न सरकारसमक्ष माग गरे ।
नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर एन्ड कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले व्यवसाय प्रवर्धनका लागि सरकारका तीनवटै तह जिम्मेवार हुनुपर्ने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटनसत्रमा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यावसायिक स्टल रहेका संघका कोषाध्यक्ष युवराज निरौलाले जानकारी दिए ।
खेल सामग्री, फुडकोर्ट, सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रसिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।
कार्यक्रममा महोत्सव मुल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तव्य राखेका थिए ।
त्यसअघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु शुभेच्छुकहरुको समूह विभिन्न झाँकीहरुसहित नगरपरिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यपार महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको महोत्सव अनुगमन समिति संयोजक गोमा भट्टराईले जानकारी दिइन् ।
Comments are closed