
बिर्तामोड, माघ ९ । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्ग्यानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लाबासीले उत्पादन गरेका कोदो, फापर, मकै, जौँ, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यसबाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखर पनि उनको स्टलमा रहेको छ ।

पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सीमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधीय गुण भएको मह र लेकाली भेडाको घ्यु उपलब्ध छ ।
ताप्लेजुङस्थित फुङलिङकी माया गुरुङले अलैँचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी छिन् । उनले यो सीप विकासका लागि परामर्श समेत प्रदान गर्ने बताइन् । आफू र आफूजस्तै महिलाहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि विगत लामो समययता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छन् ।
अर्ग्यानिक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो वस्तु र परामर्शसहित महोत्सवको स्टलमा पुगेकी छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पाइने वस्तु र सेवाहरुको एकैथलोबाट अवलोकन र बिक्री वितरणका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, मसला र जडिबुटीहरु पनि व्यवसायीहरुले सजाएका छन् ।

मेचीनगरमा रहेको एड्भान्स मल्टी प्रोडक्सन कम्पनी प्रालिले अर्ग्यानिक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामग्री बिक्री वितरणका लागि राखेको छ ।

यो महोत्सवले सिङ्गो नेपालसहित भारत, बंगलादेश, पाकिस्तानका व्यवसायीलाई एकैथलोमा जोडेको छ । अघिल्ला महोत्सवमा जस्तै यसपटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।
झापाकै जिना बस्नेत १२ वटा फरकफरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छन् । उनको स्टलमा हस्तकलाका माला, कुसन र गुडिया (डल) भेटिन्छन् । च्याउको सुकुटी पनि उनले राखेकी छिन् ।

सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगारमुलक उद्योगका सञ्चालकलाई विशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम, बंगलादेशी गार्मेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।
वाणिज्य संघअन्तर्गतकै महिला उद्यमी समूहले अर्ग्यानिक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडालले जनाएकी छन् । महोत्सवस्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन् ।
अवलोकनकर्ता र बालबालिकाका लागि खेलकुदका सामग्री साथै प्रसिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति प्रत्येक दिन रहने महोत्सव संयोजक विशाल थापाले बताए ।