बिर्तामोड, माघ ११ । झापाको बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण भएको छ ।
बिर्तामोड-५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको थियो ।
मन्दिर निर्माण सम्पन्नसँगै बिर्तामोड नगरपालिकामा नै पहिलोपटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राणप्रतिष्ठा गर्न लागिएको गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए ।
मन्दिर उद्घाटनसँगै गायत्री माताको यही माघ २१ गते विधिपूर्वक प्राणप्रतिष्ठा गरिनेछ । माताको प्राणप्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।
माताको प्राणप्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिएको शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसँगै माघ १७ गते प्रतिनिधिसभा नेपालका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको संयोजक वंशलले बताए ।
माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने उनले जानकारी दिए ।
भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मासाहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।
वैदिक सनातन र हिन्दू धर्मअन्तर्गत गायत्री मताको महत्वपूर्ण स्थान छ । गायत्री मातालाई जननी मानिन्छ । गायत्री मातालाई वेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ ।
ऋषि विश्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर गायत्री मन्त्र प्राप्त गरी प्रचलनमा ल्याउनु भएको र आज पर्यन्त गायत्री मन्त्रको जप गरिँदै आएको बताइन्छ ।
ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसरिक जीवनका सबै प्रकारका कष्टहरुबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पूरा हुने धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार आम विश्वास गरिन्छ ।
Comments are closed