बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १०–१० ओभरमा झारिएको थियो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो ।
दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे भने सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन जोडेका थिए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।
भद्रपुरका प्रवेश कामतीले २ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिए ।
त्यस्तै, जवाफी ब्याटिङ गरेको भद्रपुरले ४ दशमलव ४ ओभरमा बिनाविकेटको क्षतिमा ७५ रनको लक्ष्य प्राप्त गरेको थियो । भद्रपुरका लागि निखिल पौडेलले १९ बलको सामना गर्दै विष्फोटक ५४ रन बनाएका थिए ।
उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका भद्रपुरका पौडेल खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरे ।
भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा जारी प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको आयोजक बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।
प्रतिष्ठानका अध्यक्ष प्रसाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता र उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्यतामा भएको थियो ।
गाउँपालिका अध्यक्ष प्रसाईंको ब्याटिङ र उपाध्यक्ष खतिवडाको बलिङमार्फत प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा आयोजक प्रतिष्ठानका सचिव मदन मगरले स्वागत गरेका थिए ।
Comments are closed