२०८१ माघ १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका तीन क्रिकेटर यु–१९ विश्वकप छनोटको प्रथम चरणमा


बिर्तामोड, माघ १२ । झापाका तीनजना युवा क्रिकेटर आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको प्रथम चरणमा परेका छन् ।

झापा दमकका सुजनप्रसाद घिमिरे र भूपाल दंगाल तथा काँकरभिट्टाका आशिक राना मगर अन्तिम ३६ जनाको क्लोज क्याम्पमा परेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

अफ स्पिनर घिमिरेले यसअघि यु–१९ पुरुष टिमबाट हङकङविरुद्ध खेलिसकेका छन् । सिनियर टिमबाट पिएम कप खेलेका उनले लुम्बिनी प्रदेशविरुद्ध तीन विकेट लिँदै ४३ रन जोडेका थिए । सो खेलमा प्लेयर अफ द म्याच बनेका घिमिरे प्रशिक्षक र मिडियाको नजरमा परेका थिए ।

त्यस्तै, पहिलो रोजाइका ब्याट्सम्यान दमकका दंगाल मेहनती खेलाडीका रुपमा चिनिन्छन् । कोशी प्रदेशको सिनियर टिमबाट सात खेल खेलिसकेका उनले दायाँहाते ब्याट्सम्यान हुन् ।

काँकरभिट्टाका मगर अलराउन्डर हुन् । विद्यालयस्तरका खेलमा उत्कृष्ट रन जोड्ने उनी पहिलोपटक क्याम्पमा परेका हुन् ।

यु–१९ पुरुष विश्वकपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । पाँच टोली सहभागी रहने छनोटको शीर्ष स्थानमा रहने टोली विश्व कपमा छनोट हुनेछ ।

नेपाल सहित अफगानिस्तान, ओमान, यूएई र हङकङको सहभागिता रहने छनोटको शीर्ष स्थानमा रहने टोली २०२६ मा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

यसैबीच, छनोटको तयारीस्वरूप क्यानले युथ कपको आयोजना गर्ने भएको छ । यही माघ १५ देखि २२ सम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा युथ कप हुनेछ ।

यसका लागि प्रारम्भिक रूपमा क्लोज क्याम्पमा समावेश भएका यु–१९ का ३६ खेलाडीहरूलाई तीन टोलीमा समावेश गरिनेछ ।

तीन टोलीहरूलाई नेपाल यु–१९ रातो, नेपाल यु–१९ हरियो र नेपाल यु–१९ निलो नाम दिइएको छ । यिनै टोलीहरूको बीचमा डबल राउन्ड रोबिन लिग खेलाइनेछ ।

Comments are closed

Adv footer