बिर्तामोड, माघ ११ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकालाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।
२१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रनमा सीमित रह्यो ।
बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाविरुद्ध कनकाई नगरपालिकाले ३४ रनले जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको कनकाई नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।
१८३ रनको लक्ष्य पछ्याएको बाह्रदशी गाउँपालिकाले ८ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।
कनकाईको जितमा ब्याटिङमा २६ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका अनिश न्यौपाने प्लेयर अफ द म्याच घोषित भए ।
भोलि माघ १३ गतेको पहिलो खेल झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकाबीच हुने आयोजक वर्षा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता अध्यक्ष प्रसाईंले बताए ।
Comments are closed