२०८१ माघ १४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको गायत्री मन्दिरमा ९२ संघसंस्थाको अपनत्व, साझा धरोहर बनाइने


बिर्तामोड, माघ १३ । कोशी प्रदेशमै पहिलोपटक बिर्तामोडको अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा विकसित गरिने भएको छ ।

अढाई करोड रुपैयाँको लागतमा बनेको आकर्षक गायत्री माताको मन्दिरलाई हरेक जातजाति, धर्म र समुदायको साझा धरोहर बनाउने गरी मन्दिर निर्माण समितिले तयारी थालेको हो ।

गायत्री मन्दिर जति सुन्दर छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उत्तिकै उदाहरणीय बनाइने मन्दिर निर्माण समितिका अध्यक्ष रोनक वंशलले जानकारी दिए ।

हालसम्म ९२ वटा संघसंस्थाले गायत्री मन्दिरप्रति अपनत्व जनाइसकेका छन् । त्योसँगै त्यहाँ आयोजना हुने पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउने ती संस्थाहरुले सामुहिक प्रतिबद्धतासमेत व्यक्त गरेको वंशलले बताए ।

मन्दिरलाई कुनै समुदाय विशेषको मात्र नभएर सबैको साझा धरोहरको रुपमा विकास गर्न लागिएको अध्यक्ष वंशलले बताए ।

मन्दिरलाई व्यवस्थापन गर्न सबै जातजातिको प्रतिनिधित्व हुनेगरी व्यवस्थापन समिति निर्माण गरिने भएको छ । पाँच दिवसीय अनुष्ठान सम्पन्न भएपछि व्यवस्थापन समिति निर्माण गरिने भएको हो ।

मन्दिर निर्माणका लागि खर्च भएको आयव्यय सार्वजनिक गरिसकेपछि मन्दिरलाई दिगो र व्यवस्थित रुपमा सञ्चालन गर्नेगरी व्यवस्थापन समिति बनाइने मन्दिर निर्माण समितिका अध्यक्ष वंशलको भनाइ छ ।

स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण सुरु भएको थियो ।

मन्दिर निर्माण भएसँगै बिर्तामोड नगरपालिकामा पहिलोपटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ ।

माघ २१ गते मन्दिर उद्घाटनसँगै गायत्री माताको विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलले जानकारी दिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माताको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले बताए ।

माताको प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिने शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, माघ १७ गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाइ छ ।

माघ १७ देखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ ।

भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने भएका छन् ।

Comments are closed

Adv footer