बिर्तामोड, माघ १३ । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तिमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा दुई हजार रुपैयाँ अनुदान दिएको थियो ।
नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
पालिकाले उपलब्ध गराएको अनुदानपछि स्थानीय भद्रपुर-३ बेसाबारीका किसान मेवा गणेशले १० कट्ठा जमिनमा आलुखेती गरेर तीन लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको बताए ।
स्थानीय किसान मोहनलाल गनगाईंका अनुसार व्यापारी बारीसम्म नै तरकारी किन्न आउने भएकाले बजारको समस्या छैन ।
पालिकाले अझै पनि प्राविधिक रूपमा स्थानीय किसानलाई सहयोग गरे आलुसँगै अन्य तरकारीखेतीमा राम्रो प्रतिफल निकाल्न सकिन्छ ।
नगरबासीलाई विषादीरहित अग्र्यानिक तरकारीप्रति आकर्षित गराउने पालिकाको उद्देश्य रहेको साथै भद्रपुर नगरपालिकाले कृषि क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी बजेट विनियोजन गरेको उपप्रमुख राधा कार्कीले उल्लेख गरिन् ।
यस वर्ष खायन आलुखेती प्रवर्धन कार्यक्रमका लागि पालिकाले स्थानीय एक सय ५० किसानलाई २० लाख रुपैयाँ अनुदान वितरण गरिएको कृषि प्रविधिक सुमन बिमलीले जानकारी दिए । किसानले आलु लगाएको क्षेत्रफलका आधारमा उक्त अनुदानको रकम वितरण गरिएको उनले बताए ।
यसैगरी भद्रपुर नगरपालिकाले ‘नगरप्रमुख तरकारीखेती कार्यक्रम’ अन्तर्गत कम्तिमा पाँच कट्ठा जमिनमा एउटै किसिमको तरकारीखेती गर्ने किसानलाई लागतको ७५ प्रतिशत अनुदान वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन रहेको कृषि प्राविधिक विमलीले जानकारी दिए ।
Comments are closed