बिर्तामोड, माघ १६ । झापाको बिर्तामोडमा निर्माण गरिएको गायत्री माताको मन्दिरमा हुने पाँच दिने अनुष्ठानको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले गर्ने भएका छन् ।
भोलि माघ १७ गते हुने अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको मन्दिर तथा कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए ।
अनुष्ठानअन्तगर्त माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको वंशलले बताए ।
उनका अनुसार माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने कार्यक्रम तय भएको छ ।
दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ ।
भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।
सुन्दर सजिसजावटसहित निर्माण गरिएको गायत्री मन्दिरमा अढाई करोड लगानी भएको छ । बिर्तामोड-५ स्थित अग्रसेन भवन परिसरमा दाता परिवारहरु, स्थानीय सरकार बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको छ ।
बिर्तामोड नगरपालिकामा नै पहिलोपटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको वंशलको भनाइ छ ।
मन्दिर उद्घाटनसँगै गायत्री माताको आगामी माघ २१ गते विधिपूर्वक प्राण प्रतिष्ठा गरिनेछ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ ।
Comments are closed