बिर्तामोड, माघ १६ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आज भएको क्वार्टर फाइनल खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई र मेचीनगरले कचनकवल गाउँपालिकालाई पराजित गरेसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।
आज भएको पहिलो खेलमा गौरादहले अर्जुनधारालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको गौरादहले अर्जुनधारालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए । ठुलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन बनाउन सफल भयो ।
गौरादहलाई विजय दिलाउन महत्वपूर्ण ७५ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सुरज न्यौपाने खेलको म्यान अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।
त्यस्तै, दोस्रो खेलमा मेचीनगरले कचनकवललाई ५३ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले कचनकवलसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
मेचीनगरले १९.१ ओभरमा सबै विकेट गुमाएर सन्दिप ढुंगानाको ४७ र अमित श्रेष्ठको ५५ रनको योगदानले १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको कचनकवल गाउँपालिकाले १८ ओभरमा अलआउट हुँदै १०८ बनाउन सफल भयो ।
मेचीनगरलाई जित दिलाउन ४७ रन बनाउनुका साथै ३ विकेट लिएका सन्दिप ढुंगाना खेलको म्यान अफ द म्याच भए । उनले नगद ३ हजार रुपैयाँ ,मेडल र ट्रफी पाए ।
भोलिको पहिलो सेमिफाइनलमा बिर्तामोड र गौरादह नगरपालिका भिडने छन् भने दोस्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबीच रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।
Comments are closed