बिर्तामोड, माघ १७ । पूर्वमा एक महिलासहित १७ जनाले एन्फा रेफ्रीका लागि ब्याच पाएका छन् । झापाको झिलझिलेमा भएको फोर्थ क्याटोगोरी रेफ्री कोर्सबाट उत्तीर्ण भएका १७ जनालाई एन्फा रेफ्रीको ब्याच वितरण गरिएको हो ।
झापा जिल्ला फुटबल संघको आयोजना तथा एन्फाका प्राविधिक टोलीको प्रशिक्षणबाट इलामकी एक महिलासहित १७ जनाले मापदण्डअनुरुप एन्फा रेफ्रीको कोर्स पूरा गरेका हुन् ।
फोर्थ क्याटोगोरी रेफ्री कोर्स पास गरेकामध्ये धनकुटाका भुवन मगर टप्पर बनेका छन् । उनीसँगै ६ जिल्लाका १७ जनाले फिटनेस र लिखितमा नाम निकालेर एन्फा रेफ्री २०२५ को ब्याच प्राप्त गरे ।
एन्फा रेफ्री क्याटोगोरी २०२५ मा सफल हुनेमा सबैभन्दा बढी इलाम जिल्लाका ६ जना रहेका छन् । जसमा अनिषा राई, रिकेश गुरुङ, विशाल तामाङ, श्यामकुमार जवेगु, दिपेश राई र मिलन राई रहेका छन् ।
त्यस्तै, झापा र ताप्लेजुङका ३–३ तथा धनकुटा र संखुवासभाका २–२ जनाले एन्फा रेफ्री ब्याच पाएका छन् । झापा जिल्लाबाट अनिष राई, युनिश पौडेल र वियोग बोहोरा रहेका छन् ।
त्यस्तै, ताप्लेजुङका उदिपहाङ लिम्बू, आदित्या लिम्बू र सन्तकुमार लिम्बू रहेका छन् भने धनकुटाका कुसुम थुलुङ राई र भुवन मगर तथा संखुवासभाका दिपेश गुरुङ र अनिल जिमी रहेका छन् ।
तेह्रथुमका एक जना मात्र रोशन लिम्बूले एन्फा रेफ्रीमा नाम निकालेका छन् । तालिम समापन समोरहकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, एन्फाका प्रशिक्षकहरु सैलेश कार्की, सचिन अमात्य, मधुसुदन खनाल, रोजन श्रेष्ठ र झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष श्याम दनुवारलगायतले प्रमाणपत्र तथा रेफ्री ब्याच वितरण गरेका थिए ।
संघका महासचिव शेरबहादुर बस्नेतको सञ्चालन तथा अध्यक्ष भगिरथ आले (मामा) को अध्यक्षतमा तालिम भएको थियो ।
Comments are closed