बिर्तामोड, माघ १८ । फिदिममा आयोजित अन्तरमावि टी-१० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविले जितेको छ । जिल्ला क्रिकेट संघ पाँचथरको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा फिदिम माविलाई ४८ रनले पराजित गर्दै नयाँ नमुना माविले उपाधि जितेको हो।
उपाधि जितेको नयाँ नमुना माविले नगद १० हजार प्राप्त ग¥यो । उपविजेता बनेको फिदिम माविले नगद ७ हजार ५ सय प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको नयाँ नमुनाले निर्धारित १० ओभरको खेलमा ९ ओभर खेल्दै सबै विकेट गुमाएर ८० रन जोडेको थियो।
८१ रनको लक्ष्य पछ्याएको फिदिमले ९ ओभरमा १० विकेट गुमाएर ३३ रनमा समेटिएपछि नयाँ नमुना माविको फराकिलो जित बनेको हो ।
नयाँ नमुना माविका अभय रिजाल प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत भए। उनले नगद ११ सय प्राप्त गरे ।
माघ १६ गतेदेखि भएको नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा फिदिम बजार क्षेत्रका ६ वटा निजी र सामुदायिक विद्यालय सहभागी थिए। विजयी खेलाडीलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेक्बे, नेपाली कांग्रेसका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ र उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य दिपक नेपाललगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए।
विद्यार्थी क्रिकेट खेलाडीहरुमा भएको क्षमताको विकास गर्न र विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले फिदिमका बजार क्षेत्रका विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गरिएको र निकट भविष्यमा पाँचथरभरिका विद्यालयहरुलाई समेटेर प्रतियोगिता आयोजना गरिने जिल्ला क्रिकेट संघ पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिएका छन् ।
कक्षा कोठाको सिकाइमात्रै नभई विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि विकास गर्न जरुरी रहेको भन्दै विद्यार्थीप्रति बढेको क्रिकेटको मोहलाई ध्यानमा राखेर नै संघले प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाको भनाइ छ ।
Comments are closed