बिर्तामोड, माघ १८ । यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ । देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण कहिले धेरै पानी पर्ने त कहिले पर्दै नपर्ने भइरहेको विज्ञहरूले बताइरहेका छन् । जसका कारण वातावरणसँगै समग्र पारिस्थितिक प्रणालीमै असर पाने सक्ने उनीहरूले बताउन थालेका छन् ।
देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने ३० वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ । त्यसकै आधारमा पछिल्ला झन्डै दुई दशकका नेपालमा धेरैजसो हिउँद महिना सुक्खा हुन थालेको छ ।
यस वर्षको हिउँद अवधिमा हालसम्म तीन २० वटा केन्द्रको औसत हेर्दा हिउँदमा हुनुपर्ने कुल वर्षाको ९.२ प्रतिशत मात्र भएको छ । जुन सरदर वर्षाभन्दा निकै कम हो । गत वर्ष हिउँदमा धेरैजसो स्थानहरूमा सरदरभन्दा कम वर्षा भएको मापन गरिएको थियो । यस वर्षको हिउँदमा पनि अहिलेसम्म पर्याप्त पानी पर्न सकेको छैन ।
जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको हावापानी विज्ञान महाशाखाको सन् २०१५ को रिपोर्टअनुसार वार्षिक रूपमा सरदर १८ सय मिलिमिटर पानी पर्नुपर्ने हुन्छ । यसमध्ये जाडो मौसममा मात्रै २ सय मिलिमिटर वर्षा हुनुपर्छ । तर यो वर्षको हिउँदमा सरदर २० मिमि मात्रै वर्षा भएको छ । यो भनेको करिब १० प्रतिशत हराहारीमा हो ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्र्तगत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालका अनुसार वर्षा मापन स्टेसनअनुसार फरक–फरक आउँछ ।
‘सबै ठाउँमा एकैनासको पानी पर्दैन,’ उनले भने, ‘यो हिउँदमा पश्चिममा केही वर्षा भएको छ, तर पूर्वी भागमा वर्षा भएको छैन ।’ ठाउँअनुसार वर्षा फरकफरक हुने भएकाले यसलाई देशभरको वर्षा भन्न सक्ने अवस्था देखिँदैन ।
Comments are closed