बिर्तामोड, माघ २२ । झापाको बिर्तामोड-६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) प्रविधिको अध्ययन हुने भएको छ ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीले एआइ सम्बन्धी अतिरिक्त विषयको अध्ययन गर्न पाउने विद्यालयकी कार्यकारी निर्देशक डक्टर अञ्जली कार्कीले जानकारी दिइन् ।
विद्यालयले थ्रिडिआइ ल्याबको उद्घाटनसँगै एआइ प्रविधिको पढाई हुने भएको हो । थ्रिडिआइ ल्याबको उद्घाटन विद्यालयका सञ्चालक दुर्गा प्रसाईंले गरेका थिए ।
एआइबिना अध्ययन पनि अपुरो हुने भएकाले विद्यार्थीलाई भविष्यमा प्रविधिमैत्री बनाउन तथा व्यावहारिक शिक्षा दिने उद्देश्यले एआइको अध्ययन सुरु गरिएको विद्यालयका सञ्चालक प्रमिस गिरीले जानकारी दिए । उनका अनुसार यो प्रक्रियाबाट पढाइ गराउने कोशी प्रदेशमै पहिलो विद्यालय तक्षशिला हो ।
कार्यकारी निर्देशक डक्टर कार्कीका अनुसार उक्त ल्याब एक करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो । तक्षशीलामा प्लेग्रुपसहित कक्षा १० सम्म अध्यापन गराइँदै गरेको कार्कीले बताइन् ।
भारतको पुणेमा रहेको एक विद्यालयको ल्याबमा विद्यार्थीले एआइ अध्ययन गरिरहेको देखेपछि तक्षशिलामा यो विषय सुरु गर्ने सोच आएको विद्यालयका एकेडेमिक डाइरेक्टर डक्टर भिक्टर जोसेफले बताए ।
विद्यालयमा सात सय विद्यार्थी अध्ययनरत छन् भने करिब ५० जना शिक्षकशिक्षका रहेको बताइएको छ ।
Comments are closed