
मेचीनगर, माघ २६ । झापाको चारआलीमा पहिलोपटक भव्य सांगीतिक महोत्सव ‘चारआली म्युजिक फेस्ट २०२५’ आयोजना हुने भएको छ ।
बज्र इभेन्टको आयोजनामा एक दिने संगीत महोत्सव हुने आज होटल मेची क्राउनमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
संगीतिक महोत्सवमा लोकप्रिय ब्यान्ड ‘जोन एन्ड द लोकल’ को प्रस्तुति रहने इभेन्टका स्पिकर मनिष गहतराजले जानकारी दिए । फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्रनजिक रहेको हातेमालो खेल मैदानमा हुने कार्यक्रमले नेपाली सङ्गीतप्रेमीहरूलाई नयाँ उत्साह प्रदान आयोजकको अपेक्षा रहेको छ ।
महोत्सव सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रममा प्रवेश शुल्क भने ५००, १००० र ३५०० रुपैयाँ निर्धारण गरिएको छ ।
सांगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एन्ड द लोकल्को दमदार प्रस्तुति रहने जनाइएको छ ।
विश्वका विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको यो चर्चित ब्यान्ड नेपाली सङ्गीतप्रेमीहरूमाझ अत्यधिक लोकप्रिय छ । ब्यान्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् ।
इभेन्ट्सका अध्यक्ष फुर्वा लामाका अनुसार चारआली म्युजिक फेस्ट २०२५ बाट बचेको रकमले मेचीनगरको फ्रिडम फाउन्डेसनलाई सहयोग गर्दै सामाजिक हितका कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ ।
फ्रिडम फाउन्डेसन लागुऔषध प्रयोगकर्ताहरूलाई कुलतबाट मुक्त गराउन उपचार र परामर्श प्रदान गर्दै आएको छ । यसको सञ्चालक सन्दिप थापा रहेका छन् । उनी पनि यस सङ्गीत महोत्सव आयोजनामा जोडिएका छन् ।