२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकाको पोस्टमा अर्जुनधाराको १६ गोल


बिर्तामोड, माघ २९ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६–० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् ।

सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् । उनले खेलको ४० औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् ।
दोस्रो गोल १३ मिनेटमा गरेकी जेनिफरले फेरि ३८ र ४६औँ मिनेटमा थप गोल गरेर अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराएकी छन् ।

पहिलो खेलमा पनि जेनिफर एक्लैले दमक नगरपालिकाविरुद्ध ५ गोल गरेकी थिइन् । त्यस्तै, मेनुकाले खेलको ११, ३५ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

कुसुम खतिवडा, मञ्जलीकुमारी योञ्जन र मन्जिला योङहाङको नाममा समान २-२ गोल दर्ता भएको छ । अर्जुनधाराका लागि कुसुमले खेलको १७ र १९ औँ, मञ्जलीले ३४ र ३६ औँ तथा मन्जिलाले खेलको ४२ र ५२ औँ मिनेटमा गोल गरेकी हुन् ।

त्यस्तै, रेनु लिम्बूले खेलका ४५ औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार मिलेको थियो ।

अर्जुनधाराकी कुसुम खतिवडा प्लेयर अफ द म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । भोलि कमल गाउँपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Adv footer