![](https://jhapatoday.com/wp-content/uploads/2024/09/gold.jpg)
बिर्तामोड, फागुन ३ । सातामा नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो । जबकि हिजो शुक्रबार सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २७ गते १ लाख ६८ हजार २००, २८ गते १ लाख ६९ हजार ६००, २९ गते १ लाख ७० हजार २०० रुपैयाँ कायम भयो ।
तर, ३० गते फेरि घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसपछि भने फेरि बढ्न पुग्यो । जसअनुसार फागुन १ गते १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको सुन फागुन २ मा थप बढेर १ लाख ७० हजार २०० पुगेको हो ।
यो मूल्य भन्सार दर घटेपछिको पनि रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
मन्त्रिपरिषद्को गत मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।
त्यसपछि केही समय सुनको मूल्य १ लाख ५० हजार रुपैयाँको हाराहारीमा रहे पनि अहिले फेरि मूल्य निरन्तर बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम रहेकाले स्थानीय बजारमा पनि फेरि मूल्यले नयाँ रेकर्ड बनाउने देखिएको जानकारहरू बताउँछन् ।