२०८१ फागुन ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीको ल्होत्से इङलिस स्कुलको खेलकुदमा पहेँलो सदन प्रथम


मेचीनगर, फागुन ४ । झापाको मेचीनगर ९ मा रहेको ल्होत्से इङलिस स्कुलले यस वर्षको वार्षिक खेलकुद सप्ताह कार्यक्रम २०८१ समापन गरेको छ ।

ल्होत्से स्पोर्टस मिट २०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य पदक जित्दै पहेँलो सदन प्रथम बनेको छ । त्यस्तै, ९ स्वर्ण, ७ रजत तथा ६ कास्य पदक जितेर हरियो सदन दोस्रो तथा ७ स्वर्ण, ६ रजत तथा ९ कास्य पदकसहित रातो सदन तेस्रो भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई विद्यालय निर्देशक धनराज थापा, विद्यालयका प्रिन्सिपल कमल नेपाल, प्रशासन प्रमुख रिना थापा तथा विद्यालय व्यवस्थापन समिति सदस्यलगायत शिक्षकशिक्षिकाहरुले ट्रफी तथा मेडलहरु वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्याब्सन झापाका सदस्य भोजबहादुर कार्की तथा मेचीनगर प्याब्सनका प्रमुख सल्लाहकार डमर रुचाल तथा वडा अध्यक्ष कञ्चन तामाङले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले परेड, दौड तथा विभिन्न ड्रिल प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका आशा पौडेलले गरेकी थिइन् ।

२०४९ सालमा स्थापित हिमालयन इङलिस हाई स्कुल हाल नयाँ व्यवस्थापनमा सञ्चालन भइरहेको हो । धुलाबारी क्षेत्रमा एउटै नामको दुईवटा विद्यालय रहेकोले प्राविधिक कठिनाइका कारण नयाँ व्यवस्थापक तथा सञ्चालकहरुले नाम परिवर्तन गरी ल्होत्से इङलिस स्कुल नामाकरण गरेर यस शैक्षिक सत्रदेखि सञ्चालन गरेका हुन् ।

संसारको चौथो अग्लो हिमाल तथा नेपालको तेस्रो अग्लो हिमाल कम चर्चामा रहेको ल्होत्से हिमालको बारेमा व्यापक जानकारी दिन विद्यालयको नाम ल्होत्से इङलिस स्कुल राखिएको प्रिन्सिपल कमल नेपालले बताए ।

विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासका लागि शैक्षिक क्रियाकलापका साथै विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

Adv footer