२०८१ फागुन ८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तरपालिका महिला फुटबलको उपाधि कनकाईलाई 


 बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको कनकाई नगरपालिकाले उपाधिसहित नगद ३ लाख पाएको छ । उपविजेता बनेको अर्जुनधारा नगरपालिकाले ट्रफीसहित नगद १ लाख ५० हजार पाएको छ ।

कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ औँ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो ।

खेलको ५३ औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६० औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा टिमका लागि तेस्रो गोल गरेकी हुन् ।

फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा राई प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । यस्तै, कनकाईकी सुशिला चौधरी बेस्ट किपर, कप्तान खुस्मा राई बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डर सिम्रन राई भइन् । उनीहरुले जनही ७-७ हजार पाए ।

यसैगरी, अर्जुनधाराकी जेनिफर रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार पाउन सफल भइन् । यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद ७ हजार पाइन् ।

खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप ७ हजार र खेलप्रेमीबाट २ हजार ५ सय नगदसहित ट्रफी पाइन् । उनले एप्पल वाच पनि पुरस्कार पाइन् ।

विजेता तथा उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाई, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेल, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कृत गरेका थिए ।

Adv footer