२०८१ फागुन ८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा कृषकलाई अनुदानमा मोटरसहितको चापकटर प्रदान


बिर्तामोड, फागुन ६ । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कृषिलाई प्रविधिमैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामग्री वितरण गर्दै आएको बताइन् । उनले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सीपमुलक तालिम र मेसिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताइन् ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माग निवेदनका आधारमा चापकटर वितरण गरेको हो । ६० वटा निवेदन प्राप्त भएकोमा अनुगमन गरी यस वर्ष २५ जनालाई वितरण गरेको पशुपंछि तथा मत्स्य निकास शाखा प्रमुख डक्टर नगेन्द्र खड्काले जानकारी दिए ।

चापकटर एउटाको मूल्य २९ हजार ५ सय रहेकोमा कृषकले १४ हजार ७५० रुपैयाँ लगानी गरेका छन् । नगरपालिकाले ३ सयवटाभन्दा बढी चापकटर यसअघि नै वितरण गरिसकेको छ ।

नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखामार्फत चापकटर, चिलिङ भ्याट, दाना पिसाउने मेसिन, मिल्क क्यान, ब्रुडिङ मेसिन (चल्ला उत्पादन गर्ने मेसिन), काउ म्याट लगायतका सामग्री हरेक वर्ष वितरण गर्दै आएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् ।

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, अविरलकृष्ण खरेल, दुर्योधन गुरुङ, कार्यपालिका सदस्य सीता ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

Adv footer