२०८१ फागुन ८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजन स्कुल हरिकुमार प्रसाईं मेमोरियल यु–१३ को च्याम्पियन


बिर्तामोड, फागुन ६ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी मावि झापाको बिर्तामोडमा आयोजित हरिकुमार प्रसाईं मेमोरियल जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ फुटबलको च्याम्पियन बनेको छ ।

एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीमा आज भएको फाइनल खेलमा बिर्तामोडको निदि स्कुललाई ३–२ गोल अन्तरले पराजित गर्दै इस्ट होराइजन च्याम्पियन बनेको हो ।

इस्ट होराइजनका लागि निर्जल मोहोराले २ गोल गर्दा निशान्त चौधरीको नाममा एक गोल रह्यो । निदिका लागि रिवान तिम्सिना र प्रकाश राजवंशीले गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच निर्जल मोहोरा भए ।

त्यस्तै, इस्ट होराइजनकै प्रिन्स थाम्सुहाङ बेस्ट किपर, आदित्य गोले बेस्ट डिफेन्डर, हाइ स्कोरर निशान्त चौधरी र बेस्ट कोच सरोज तामाङ घोषित भए । बेस्ट मिडफिल्डर निदिका उज्ज्वल जवेगु र बेस्ट फरवार्ड वाल्मीकिका दर्पण गुरुङ बने ।

फेयर प्ले टिम देवकुल इङलिस स्कुल हुँदा इमर्जिङ प्लेयर आयोजक एभरेस्ट स्मार्टका प्रसुन गौतम भए भने बेस्ट प्लेयर इस्ट होराइजनका अविष्कार साम्यु लिम्बू बने ।

खेलाडी उत्पादन र फुटबल खेलमा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित फाइनल खेलको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।

विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका प्रिन्सिपल अनुप शर्मालगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरुले पुरस्कार वितरण गरेका थिए ।

एकाडेमीका संस्थापक प्रसाईंको स्मृतिमा भएको प्रतियोगितामा झापाको मेचीनगर, बिर्तामोड, शिवसताक्षी, कमल र दमक नगरपालिकाकामा रहेका विद्यालयका १६ टिमहरुको सहभागिता रहेको थियो ।

Adv footer