
बिर्तामोड, फागुन १२ । झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता–२०८१ हुने भएको छ ।
झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा फिट स्टुडियोका सञ्चालक एवम् अन्तर्राष्ट्रिय कोच दिपेन धिमालका अनुसार प्रतियोगितामा सातवटै प्रदेशबाट एक हजार खेलाडी, एक सय अफिसियल निर्णायकहरु गरी दुई हजारजनाभन्दा बढीको सहभागिता रहनेछ ।
तेक्वान्दो खेलमार्फत खेलाडीहरुलाई खेलप्रतिको रुचि, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
धिमालले पत्रकार सम्मेलनमा खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु र राष्ट्रको छवि सदैव अन्तर्राष्ट्रिय जगतमा उच्च राखेर नेपाललाई चिनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको जानकारी दिए । खेलकुदको माध्यमबाट स्वस्थ र जिम्मेवार युवा निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षमुनि, १२ वर्षमुनि र १४ वर्षमाथि उमेर समूहको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एकएकजना महिला–पुरुषले २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २० जना निर्णायक (रेफ्री) सहभागी हुने छन् । प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ ।
प्रतियोगितामार्फत खेलकुद क्षेत्रसँगै जिल्लाको पर्यटन प्रवर्धन गर्नेछ भने प्रदेशहरूबीच आपसी सम्बन्ध कायम राख्न मद्दत पुग्ने पनि विश्वास लिएको धिमालको भनाइ छ ।
प्रतियोगिताको आयोजनासँगै यहाँका पर्यटकीयस्थलहरको प्रचारप्रसार, स्थानीय व्यावसाय र पर्यटन व्यावसायलाई थप प्रवर्धन गर्न सहयोग गर्ने जनाइएको छ ।
देशभरका तेक्वान्दो खेलाडीहरु बिर्तामोडमा आउँदै गर्दा झापाको खेलकुद, धार्मिक र ऐतिहासिकस्थल एवम व्यापारिक क्षेत्रको पनि प्रवर्धन हुने बताइएको छ ।
अधिकांश युवापुस्ता लागुऔषधको दलदलमा फसिरहेको बेला युवापुस्तालाई सही मार्गमा डोहोरÞ्याउन खेलकुदको भूमिका हुने उनको भनाइ छ ।