
मेचीनगर, फागुन १४ । पाँचौँ संस्करणको मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहभागी हुने छन् ।
त्यस्तै, प्रतियोगितामा भारतको जर्जियन युनाइटेड दार्जिलिङ र ग्लोबल फुटबल क्लब आसामले सहभागिता जनाउने आलेले जानकारी दिए ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ ।
प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउने क्लबका पूर्वअध्यक्ष मीनबहादुर बस्नेतले जानकारी दिए ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ । आज एक कार्यक्रमका बीच आयोजक र होटलबीच सम्झौता भएको क्लबका उपाध्यक्ष अशोक राईले बताए ।