
बिर्तामोड, फागुन १८ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ । हिजो साँझ झापा तथा आसपासका जिल्लामा हल्का वर्षा भएको थियो भने चिसो हावा पनि चलेको थियो ।
विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको देखिन्छ ।
गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो । यो प्रणाली हिजो रातिदेखि नेपालभरबाट बाहिरिइसकेको वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
उनका अनुसार मौसममा आजबाट सुधार भइसकेको छ । त्यसैले आज वर्षा र हिमपातको सम्भावना छैन ।
शुक्रबार र शनिबार उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ परेको थियो । हिमपातले केही जिल्लामा यातायात आवागमन नै प्रभावित भएको थियो ।
हिउँ सकिनेबेला भएको हिउँदे झरी र हिमपातका कारण कतिपयलाई यात्रामा कष्ट भए पनि बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् । लामो समयदेखिको खडेरीले किसानहरु मर्कामा परेका थिए ।