२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर गोल्डकपमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले खेल्ने


बिर्तामोड, फागुन १८ । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्बेकिस्तानको टोली सहभागी हुने भएको छ ।

नेपालमा पहिलोपटक आएको उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।

सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले झापा टुडेलाई जानकारी दिए ।

आयोजकले यसअघि मेचीनगर गोल्डकपमा सहभागी हुने आठ टोलीबारे जानकारी दिए पनि उज्वेकिस्तानको टिम ल्याउने भएपछि जर्जियन युनाइटेड दार्जिलिङ भारतलाई सहभागी नगराउने भएको छ ।

यसैबीच पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेसँगै खेलतालिका भोलि सार्वजनिक गरिने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।

उपाध्यक्ष राईका अनुसार प्रतियोगितामा अब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा भारतको ग्लोबल फुटबल क्लब आसाम सहभागी हुने छन् ।

चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष नवराज ओलीले बताए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ ।

उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।

मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।

Adv footer