
बिर्तामोड, फागुन २० । आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबले तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप २०८१ को उद्घाटन खेलमा गाईघाट युनाइटेड उदयपुरमाथि शानदार जित दर्ता गरेको छ ।
आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाटमाथि ४–० गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे भने एक गोल प्रदिप श्रेष्ठले गरे । राईले खेलको १८ औँ, २८ औँ र ३१ औँ मिनेटमा गोल गरे । श्रेष्ठले ३४ औँ मिनेटमा एक गोल थपे ।
खेलको प्लेयर अफ द म्याच ३ गोलकर्ता राई भए । उनले नगद ३ हजार र ट्रफी पाए । उनलाई क्लबका अध्यक्ष हिमाल कन्दङवा र कोषाध्यक्ष बाबुराम बस्नेतले पुरस्कार प्रदान गरे ।

भोलिको दोस्रो क्वार्टर फाइनल खेल शनिश्चरे फुटबल क्लब र लेटाङ फुटबल क्लब मोरङबीच हुने क्लबका सचिव रविन राईले बताए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी अध्यक्ष कन्दङवाले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।