
बिर्तामोड, फागुन २० । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने भएको छ ।
आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको क्लबका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।