२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इन्डो-नेपाल टि २० क्रिकेटमा सिलिगुडीको जित


 मेचीनगर, फागुन २२ । झापाको बाहुनडाँगीमा बुधबारदेखि सुरु भएको इन्डो–नेपाल टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको सिलिगुडी पेनोरसी–११ विजयी भएको छ । उसले नेपाली टोली ड्रागन–११ लाई ४४ रनले पराजित गर्‍यो । 

बाहुनडाँगी युवा क्लबको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८९ रनको विशाल स्कोर खडा गरेको थियो । जसमा राकेशले ३३ वल खेल्दै ५३ रनको अर्धशतकीय पारी खेले ।

सुभांकरले ३० बलमा ४५ रन, अरिंदमले १९ बलमा अविजित ४२ रन तथा सोतुले १२ बलमा अविजित १७ रन बनाए । बलिङतर्फ ड्रागन–११ का लागि मोहन राजवंशीले २ विकेट तथा राजु धिमालले १ विकेट लिए ।

१९० रनको लक्ष्य पछ्याउने क्रममा ड्रागन–११ ले २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन मात्र जोड्यो ।

ड्रागनका लागि राजभी महतोले सर्वाधिक ३९ रन बनाए । नर्मिल न्यौपानेले १६ बलमा आक्रामक ३४ रन जोडे । मलिन धमालले १५ र अमित दाहालले १४ रनको योगदान दिए ।

सिलिगुडीका बलर राकेशले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । अरिंदम र देवाशिषले समान २–२ विकेट हात पारे । पाहुना टोलीको घातक बलिङसामु नेपाली टोली निरीह सावित भयो ।

प्रतियोगितामा १२ टिम सहभागी रहेका छन् भने फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य बाहुनडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुनडाँगी युवा क्लबले जनाएको छ ।

Adv footer