
बिर्तामोड, फागुन २३ । झापाको भद्रपुर नगरपालिका–९ शान्तिचोकमा आज बिहान भएको आगलागीमा एउटा घर जलेर नष्ट भएको छ ।

स्थानीय जगन्नाथ ढकालको घरमा भएको आगलागीबाट छिमेकी गणेश ढकालको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

बिहान ५ बजे सुरु भएको आगलागीमा परेर घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामान, एउटा बाख्रा, एउटा गाईको बाच्छी र ३० वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गोठमा खोले पकाउन बालिएको आगोको झिल्काबाट आगलागी भएको अनुमान प्रहरीले गरेको छ । डेढ घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट ५ लाख १९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट छिमेकी गणेश ढकालको १ तल्ले पक्की घरको झ्यालको ६ वटा सिसा फुटेको र मिटरबक्स जलेर नष्ट हुँदा १८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी, स्थानीयबासी र बिर्तामोड तथा भद्रपुरको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।
